Wednesday, April 12, 2017

आगलागी हुँदा ५९ घरगोठ जलेर नष्ट

Unknown | 7:35 AM | Be the first to comment!


कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका १०, सितलापुरमा बुधबार आगलागी हुँदा ५९ घरगोठ जलेर नष्ट भएको छ । आगलागीबाट स्थानीय ५५ वर्षे सिताराम लोनिया सामान्य घाइते भएका छन् भने आगलागीबाट २२ वटा बाख्रा जलेका छन् ।स्थानीय मन्नान मियाँको घरबाट सल्केको आगो हावाका कारण फैलिएको हो । पूर्वबाट पश्चिमतर्फ चलेको हावाहुरीले मन्नान मियाँको घरको पश्चिमतर्फको सम्पूर्ण घर जलेर नष्ट भएको छ । आगलागीबाट भर्खरै भित्र्याएको अन्नबाली गहुँ, मसुरो, अरहर तथा धान, चामल लगायतका खाद्यान्न जलेर नष्ट भएको छ ।

यस्तै लत्ताकपडा, भाँडाकुँडा, काठपात, नगद, गरगहना समेत जलेर नष्ट भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक झविन्द्रप्रसाद भट्टराईले जानकारी दिए ।

आगलागीबाट बसिर मियाँको १३ वटा बाख्रा, सत्यनारायण चमारका ४, मंसुर मियाका ३ र मन्नान मियाका २ वटा गरी २२ वटा बाख्रा जलेको भट्टराईले बताए । तौलिहवा र कृष्णनगरबाट आएको दमकल, वडाप्रहरी कार्यालय चन्द्रौटाको टोली, महराजगञ्जको सशस्त्र प्रहरी, स्थानीयको सक्रियतामा झण्डै ४ घण्टापछि आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

घटनास्थल पुग्नु भएका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले जिल्ला दैबी प्रकोप राहत कोषबाट पीडित परिवारलाई तत्काल जनही ५ हजारका दरले नगद रकम हस्तान्तरण गरेका थिए ।
read more...

Tuesday, April 11, 2017

विदेशी शैक्षिक संस्थाबाट अनुमति लिएर नेपालमा सञ्चालन भएको एलसिसिआईको अनुमति खारेज

Unknown | 9:24 PM | Be the first to comment!


शिक्षा मन्त्रालयले विदेशी शैक्षिक संस्थाबाट अनुमति लिएर नेपालमा सञ्चालन भएको एलसिसिआई नेपालको अनुमति खारेज गरेको छ । मन्त्रालयबाट अनुमति लिएका कार्यक्रमभन्दा अन्य कार्यक्रम र अरू ठाउँमा सञ्चालन गरेको पाइएकाले एलसिसिआई नेपालको अनुमति रद्द गरिएको हो । आजको नयाँ पत्रिकामा खबर छ ।
नेपालको कानुनविपरीत काम गरेको र मन्त्रालयले दुईपटक स्पष्टीकरण लिँदा पनि चित्तबुझ्दो जवाफ नदिएपछि २२ चैतमा सञ्चालन अनुमति रद्द गर्ने निर्णय गरेको हो । सो संस्थाले आधिकारिक निकायको अनुमति नलिई सम्बन्धन तथा साझेदारीमा कार्यक्रम सञ्चालन गरेको देखिएकाले प्रचलित कानुनअनुसार कारबाही गर्न गृह मन्त्रालयलाई लेखी पठाइने भएकोे छ ।
शिक्षा मन्त्रालयका सहसचिव सूर्यप्रसाद गौतमका अनुसार गत ८ पुसमा सो संस्थाले मन्त्रालयमा पठाएको स्पष्टीकरणमा कुनै प्रचलित कानुनअनुसार छुट्टै स्वीकृति लिन नपर्ने र कुनै स्वीकृति आवश्यक नपर्ने व्यहोरा पेस गरेको थियो ।
विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्नेसम्बन्धी निर्देशिकामा ‘निर्देशिकाविपरीत मन्त्रालयको स्वीकृति नलिई विषय वा तह थप गरी शिक्षण संस्था सञ्चालन गरेको पाइएमा जुनसुकै बखत मन्त्रालयले त्यस्ता संस्थाको सञ्चालन अनुमति रद्द गर्न सक्नेछ’ भन्ने व्यवस्था छ । सोहीअनुसार मन्त्रालयले सो संस्थालाई कारबाही गरेको हो ।
यी विषयमा पाएको थियो सम्बन्धन
शिक्षा मन्त्रालयले १३ असार ०६८ मा मन्त्रीस्तरीय निर्णयअनुसार इडिआई इन्टरनेसनल क्वालिफिकेसन, युकेको सम्बन्धनमा पहिलो तहदेखि चौथो तहसम्म बढीमा एक वर्ष अवधिसम्मका इंग्लिस फर बिजनेस, इंग्लिस फर टुरिजम, फाइनान्स एन्ड क्वान्टिटेटिभ रिसर्च, बिजनेस एडमिनिस्ट्रेसन एन्ड सेक्रेटरियल क्वालिफिकेसन, मार्केटिङ सेल्स एन्ड कस्टमर सर्भिस, पर्सनल डेभलपमेन्ट कार्यक्रम सञ्चालन गर्न अनुमति दिएको थियो ।
अनुमति नलिई चलाएका कार्यक्रम
शिक्षा मन्त्रालयले अनुमति नलिई कार्यक्रम चलाएको जानकारी पाएपछि सो संस्थालाई स्पष्टीकरण सोधेको थियो । मन्त्रालयले गत २४ असोजमा सर्टिफिकेट इन हस्पिटालिटी, एड्भान्स डिप्लोमा इन हस्पिटालिटी, सर्टिफिकेट इन लाइफ स्किल्स फर एडोलेसेन्ट्स, सर्टिफिकेट इन पर्सनल डेभलपमेन्ट र सर्टिफिकेट इन स्किल फर इम्प्लोइमेन्ट कार्यक्रम सञ्चालनका लागि कुन निकायबाट स्वीकृति लिएर सञ्चालन गरेको हो रु स्पष्ट खुलाउन भन्दै स्पष्टीकरण सोधेको थियो । जवाफमा एलसिसिआई नेपालले आफूले सञ्चालन गरेको कार्यक्रम शैक्षिक कार्यक्रम नभएको, अन्य कुनै प्रचलित कानुनबमोजिम शैक्षिक कार्यक्रमअन्तर्गत नपर्ने, प्रचलित कानुनबमोजिम छुट्टै कुनै स्वीकृति लिन नपर्ने, स्कटिस क्वालिफिकेसन अथोरिटी स्कटल्यान्डबाट गुणस्तर सुनिश्चितता प्राप्त गरेको व्यहोरा पठाएको थियो ।
read more...

इतिहासमा नै पहिलो पटक महिला अध्यक्षको पद बहाली गर्ने, वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा विजयी

Unknown | 8:39 PM | Be the first to comment!


निजी क्षेत्रको छाता संगठन उद्योग वाणिज्य महासंघको इतिहासमै पहिलो पटक भवानी राणा महिला अध्यक्ष बन्नु भएको छ । राष्ट्राध्यक्षसहित न्यायपालिका र व्यवस्थापिकामा पनि महिला नेतृत्व रहेका बेला निजी क्षेत्रले पनि महिला नेतृत्व पाएको हो ।

नवनियुक्त अध्यक्ष राणाले आज पदबहाली गर्नुहुनेछ । महासंघको नयाँ विधान अनुसार वरिष्ठ उपाध्यक्षबाट उहाँ स्वतः अध्यक्ष बन्नुभएको हो । राणालाई निवर्तमान अध्यक्ष पशुपति मुरारकाले पद हस्तान्तरण गर्नुहुनेछ ।

यसैगरी, महासंघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा शेखर गोल्छा वरिष्ठ उपाध्यक्ष निर्वाचित हुनुभएको छ । गोल्छाले प्रतिद्वन्द्वी किशोर प्रधानलाई फराकिलो मत अन्तरले हराउनुभएको हो । गोल्छाले ६३ दशमलब ३० तथा प्रधानले ३६ दशमलब ७० प्रतिशत मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ । जितसँगै गोल्छा तीन वर्षपछि महासंघको अध्यक्ष बन्ने पक्का भएको छ ।

महासंघको नयाँ विधानअनुसार वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष हुनेछ । यसअनुसार तीन वर्षपछि ५२ औं साधारणसभाबाट गोल्छा स्वतः अध्यक्ष हुनुहुने छ । देशको पुनारो औद्योगिक घराना गोल्छा समूहका कार्यकारी निर्देशक युवा उद्यमी गोल्छा यसअघि एसोसिएटतर्फ उपाध्यक्ष हुनुहुन्थ्यो भने प्रधान जिल्ला नगरबाट उपाध्यक्ष हुनुहुन्थ्यो ।

जिल्ला र नगर समूहको उपाध्यक्षमा प्रधान समूहबाट प्रमोद श्रेष्ठ विजयी हुनुभएको छ । उहाँले ५३ तथा उहाँका प्रतिद्वन्द्वी दिलिप श्रेष्ठले ४७ मत पाउनुभयो । वस्तुगततर्फको उपाध्यक्षामा गोल्छा समूहका उमेशलाल श्रेष्ठ विजयी हुनभएको छ । वरिष्ठ उपाध्यक्षमा निर्वाचित गोल्छाले आफ्नो कार्यकालमा नीतिगत सुधारमा विशेष महत्व दिने बताउनुभएको छ ।
उद्योग वाणिज्य महासंघ पहिलो पटक महिलाको नेतृत्वमा
read more...

Friday, March 31, 2017

‘चीनसँग पछिल्लो समय देखापरेको अविश्वास हट्नेछ’

Unknown | 11:18 PM | Be the first to comment!


चैत्र १०, २०७३- साताव्यापी चीन भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भ्रमणले चीनसँग पछिल्लो समय देखापरेको अविश्वास हट्ने विश्वास व्यक्त गरेका छन् । बिहीबार वालुवाटारमा पूर्वप्रधानमन्त्रीहरु, पूर्व परराष्ट्रमन्त्रीहरु र पूर्व राजदूतहरुसँगको छलफलमा उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री दाहालको भ्रमणमा कुनै ‘नाटकिय’ अवस्था सृजना नभए दुईपक्षीय महत्वका विषयमा थप सम्झौता नहुने स्पष्ट छ ।उनले कुनै सम्झौता नभए पनि राजनीतिक सहमति र चीनबाट नेपालतर्फ हुन नसकेको उच्चस्तरको भ्रमण गराउन आफू प्रतिवद्ध रहेको पनि बताएका छन् । छलफलमा सहभागी एक सदश्यका अनुसार उनले चिनियाँ राष्ट्रपति सी चिनपिङसँग गत असोजमा गोवामा भएका छलफललाई नै निरन्तरता दिने समेत बताएका छन् ।

प्रधानमन्त्री दाहालले ‘कनेक्टिभिटी’ को विषयमा सबैभन्दा पहिले काठमाडौंलाई चिनियाँ रेलले जोड्न केरुङ काठमाडौं रेलको बिस्तृत अध्ययन प्रतिवेदन, अन्तर देशिय विद्युत ट्रान्समिसन लाइन, पारवहन सम्झौता तथा इन्धन आपुर्तीको प्राटोकल तय र नेपाललाई व्यापारको रुपमा ट्रान्जिट प्वाइन्ट बनाउने विषयमा केन्द्रित रहेर छलफल गर्ने समेत बताएका छन् । चिनियाँ राष्ट्रपति र नेताहरुसँग गरिने छलफलमा कनेक्टिभिटि र दुईपक्षीय राजनीतिक विश्वास कायम गर्नमा नै विशेष जोड दिनुपर्ने सहभागिहरुको सुझाव छ ।

प्रधानमन्त्री बोआओ सम्मेलनमा सहभागी भएर बेइजिङ प्रस्थान गर्न लागेको भए पनि बेइजिङमा हुने वार्तामा नै छलफल केन्द्रित थियो । सहभागिहरुले पनि बेईजिङमा हुने दुईपक्षीय छलफलको विषयमा नै केन्द्रित भएर सुझाव दिएका थिए ।



छलफलमा पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधवकुमार नेपाल र झलनाथ खनाल, पूर्व परराष्ट्रमन्त्रीहरु रमेशनाथ पाण्डे, डा. रामशरण महत र डा. भेखबहादुर थापा तथा चीनका लागि पूर्व राजदूतहरु राजेश्वर आचार्य र टंक कार्कीसँगै चीनसँग आवद्ध केही ब्यापारीहरुको पनि सहभागिता थिए । छलफलमा गत वर्ष चीनसँग पारवहन सम्झौता गरेका पूर्व प्रधानमन्त्री केपी ओली सहभागि थिएनन । उनीसँग दाहालले छुट्टै छलफल गरेको पनि स्रोतले बतायो ।

दाहालले आफ्नो भ्रमणलाई सद्भावना भ्रमणको रुपमा ब्याख्या गरेका छन् । चीन नेपालको महत्वपूर्ण छिमेकी रहेकोले सकेसम्म चीनसँग विश्वासको वातावरण तय गरेर सम्बन्धलाई थप उचाईमा लैजान आफूले भरपुर प्रयास गर्ने दाहालले बताएको चीनका लागि पूर्वराजदूत राजेश्वर आचार्यले कान्तिपुरलाई बताए ।

read more...

Friday, March 24, 2017

पाठेघर मुखको क्यान्सर परीक्षण नि:शुल्क हुने

Unknown | 12:41 AM | Be the first to comment!


चैत्र ११, २०७३- पाठेघरको मुखको क्यान्सर हुनबाट जोगाउन ‘भीआईए’ परीक्षण स्क्रिनिङ र क्रायोथेरापी सेवा सरकारले सबै जिल्लामा नि:शुल्क उपलब्ध गराउने भएको छ । यो यस्तो परीक्षण हो, जसबाट वर्षौंपछि पाठेघरको मुखमा क्यान्सर हुने रहेछ भने पनि सुरुवाती अवस्थामै थाहा हुनेछ ।

रोग लाग्नुअघि नै थाहा पाउन सकिने एक मात्र क्यान्सर पनि पाठेघरको मुखको क्यान्सर मात्र हो । अन्य अंगमा हुने क्यान्सरबारे सुरुवाती अवस्थामा पत्ता लाग्न सक्दैन ।
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका अनुसार नेपालमा महिलामा हुने क्यान्सरमध्ये सबभन्दा धेरै पाठेघरकै मुखको क्यान्सर हो । यसको उपचार सहज र सस्तो हुने भएकाले परीक्षण गरी सुरुवाती अवस्थामै थाहा पाएमा धेरै महिलाको ज्यान जोगाउन सकिन्छ । ‘यसबाट महिला मृत्युदर समेत घटाउन सकिनेछ,’ स्वास्थ्यमन्त्री गगन थापाले भने, ‘त्यसैले नि:शुल्क परीक्षणको यो सेवालाई आउँदो आर्थिक वर्षदेखि सबै जिल्लामा विस्तार गर्न लागिएको हो ।

भीआईए अर्थात् ‘भिजुअल इन्सपेक्सन विथ एसिटिक एसिड’ परीक्षणबाट पाठेघरको मुखमा आएका परिवर्तनको जाँच गरिन्छ । यो परीक्षणमा स्वास्थ्यकर्मीले महिलाको पाठेघरको मुखमा एसिटिक एसिडको झोल लगाएर त्यहाँ भएको परिवर्तनलाई अवलोकन गर्छन् । दाग वा अन्य दोष देखिएमा ती कोषलाई क्रायोथेरापीको माध्यमले नष्ट गरिन्छ ।

यो थेरापी अन्तर्गत माइनस १३९ डिग्री सेन्टिग्रेट तापक्रममा रहेको तरल कार्बनडायक्साइडलाई पाठेघर मुखमा देखिएको दोषयुक्त कोषमा लगाइन्छ । यसपछि यस्ता खराब कोषहरू पाप्रा बनेर नष्ट हुन्छन् । स्त्रीरोग क्यान्सर विशेषज्ञ डा.सरिता घिमिरेका अनुसार यो प्रक्रिया अत्यन्त सामान्य भएकाले यसका लागि कुनै प्रयोगशाला लगायतका अत्यन्त दक्ष जनशक्ति समेत चाहिँदैन ।
read more...

चुनावी चहलपहल:: धुरीधुरीमा पार्टीका झन्डा

Unknown | 12:39 AM | Be the first to comment!


चैत्र ११, २०७३- डाँडापाखामा विभिन्न राजनीतिक दलका झन्डा बोकेर चुनावी अभियानमा हिँडेकाहरूको लर्काे देखिन थालेको छ। दुर्गम बस्तीहरूमा चुनावी सभा हुन थालेका छन्। घरका धुरी र बाटो छेउका रूखबुट्यानमा पार्टीका झन्डा फरफराउने होडबाजी झैं छ। डोटीमा नेताहरूलाई अहिल्यैदेखि अन्तर्घातको चिन्ता हुन थालेको छ। ओखलढुंगामा मुख्य राजनीतिक दलहरूले कार्यकर्ता तानातान गर्न थालेका छन्। मध्य तराईका सर्लाही र बारालगायत जिल्लामा भने अझै चुनावी माहोल तातिसकेको छैन। मधेसी मोर्चाको विरोधले मतदाता अन्योलमा छन्।


‘पार्टीका झन्डासहितको झकिझकाउका दृश्यले गाउँमा चुनाव लागिसकेको संकेत गर्छ,’ अजयमेरू गाउँपालिकाका स्थानीय रामचन्द्र ऐरले भने, ‘लामो समयपछि हुन लागेको स्थानीय तह निर्वाचनमा जनताको स्वत: रुचि बढेको छ।’

उनले सबै राजनीतिक दलको चुनावी गतिविधि तीव्र प्रतिस्पर्धात्मक बन्दै गएको बताए। दलहरूले गाउँका अगुवालाई पार्टी प्रवेश र स्थानीयलाई चुनावी सभामा सहभागी गराउन थालेका छन्। फुर्सदिलो समय भएकाले चुनावी सभामा महिला/पुरुषको उल्लेखनीय उपस्थिति हुने गरेको छ। ‘बाली भित्र्याउने समय अझै भएको छैन। यति बेला प्राय: सबै फुर्सदिला छन्,’ ऐरले भने, ‘सर्वसाधारण सबै दलका चुनावी सभामा जान भ्याएका छन्।’

नेता बन्ने अवसर
‘यो चुनावले नयाँ पुस्तालाई नेता बन्ने ढोका खोल्नेछ,’ भद्रपुर गाविसका पूर्वअध्यक्ष उज्वलदत्त पनेरूले भने, ‘२० वर्ष पहिले गाउँको चुनाव लडेको बावुको छोरा पनि चुनाव लड्ने उमेरको भइसक्यो।’ त्यसैले पार्टीभित्र युवा कि पाका कसले टिकट पाउने भन्ने मतमतान्तर बढदै गएको छ। कांगेस अजयमेरू गाउँपालिकाको चुनावी सभामा स्थानीय किशोर बिष्टले युवालाई टिकट दिनुपर्ने माग गरे। त्यही सभामा पाका उमेरका कमलसिंह भाटले पार्टी र जनतामा लगानी गरेका पाका नेताले टिकट पाउनुपर्ने जिकिर गरे।

‘बावुले मन पराएको पार्टीले टिकट नदिए, छोरा अर्काे पार्टीमा हामफाल्ने अवस्थासमेत छ,’ देवलदिव्यपुरका दानसिंह भण्डारीले भने, ‘हाम्रो गाउँमा त्यस्तै अवस्था देखिएको छ।’ मुख्यत: ठूला दल कांग्रेस, एमाले र माओवादी केन्द्रमा टिकटका लागि त्यस्तो तछाडमछाड छ। कांग्रेस जिल्ला सचिव लक्ष्मीराज अवस्थीले टिकटका आकांक्षी बढी भएकाले पार्टीलाई मिलाएर लैजाने चुनौती रहेको बताए। उनले भने, ‘गाउँमा कार्यकर्ता नभएका साना पार्टीले टिकट नपाएका असन्तुष्टलाई आफ्नो उम्मेदवार बनाइदिने डर छ।’ गाउँमा नेता बन्ने रहर बोकेकाहरू अहिले विभिन्न दलहरूसँगको आफ्नो आबद्धता र पहुँच बढाउन थालेका छन्। साना र भर्खरै स्थापित दलले टिकटको प्रलोभनमा संगठन बिस्तारको फाइदा उठाइरहेको अवस्थीले बताए।
read more...

चीन उड्नुअघि दाहालको सहमति प्रयास : ‘सीमांकन थाती राखौं’

Unknown | 12:37 AM | Be the first to comment!

चैत्र १०, २०७३- साता लामो चीन भ्रमणमा उड्नुभन्दा साढे तीन घण्टा अघिसम्म प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिपक्षी एमाले र मधेसी मोर्चासँग बिहीबार रातिसम्मै सहमतिको प्रयास त गरे, तर विना तयारी वार्ता गरिएको भन्दै एमालेले पहिले सरकार र मधेसी मोर्चाबीच संविधान संशोधनका एजेन्डामा एकरुपता ल्याउन माग गरेपछि वार्ता विषय प्रवेश नै नभई सकियो ।

दाहालले बिहीबार बिहानदेखि रातिसम्मका चरणबद्ध बैठकहरुबाट तत्कालै निष्कर्ष निक्लिहाल्ने सम्भावना आफूले नदेखे पनि चीनबाट फर्कने बित्तिकै सीमांकन हेरफेर थाती राखेर त्यस बाहेकका विषयमा संविधान संशोधन गराएर छाड्ने आश्वासन दिए । ‘आजै म चीन जाने भएकाले धेरै विषयमा कुराकानी गरेर निष्कर्ष निकालिहाल्न सम्भव भएन, तर केपी ओलीजीसँग भएको कुराकानीबाट म अब संविधान संशोधनका आधार तयार भएको देखेको छु,’ बालुवाटारमा एमाले र मोर्चासग सत्ता घटकको संयुक्त बैठकमा दाहालले भने, ‘स्थानीय चुनावपछि सीमांकन पनि टुंगिनेगरी अब मोर्चा सहमतिमा आउनुपर्छ । एमालेसगको कुराकानीले म त्यसबाहेकका विषयमा तत्कालै संविधान संशोधन विधेयक अघि बढ्ने ठाउँ मैले देखें ।’

बालुवाटार बैठकमा दाहालसहित कांग्रेस सभापति शेरबहादुर देउवा, मधेसवादी सात दलमध्ये छ अध्यक्ष अनि राप्रपा अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापा समेत सहभागी थिए । बेलुकीको वार्तामा नगएका एमाले अध्यक्ष ओली भने सिंहदरबारमा पार्टी उपाध्यक्ष वामदेव गौतसहित दाहालसग छुट्टै कुराकानीमा सामेल थिए ।

स्रोतका अनुसार ओलीले दाहाललाई भने, ‘सीमांकन थाती राखेर संशोधन पारित गर्न एमालेले सहयोग गरे मोर्चा मान्छ, अनि चुनावमा जान्छ भन्ने आधार देखाउनुस् । मोर्चा त्यसो गर्न तयार हुने हो भने एमालेले यसबारे सकारात्मक ढंगले सोच्न सक्छ । तर बोलेको कुरा पुर्‍याउनुपर्‍यो । पछि फेरि पोहोरको पहिलो संशोधनको बेलामा जस्तै यो पुगेन, ऊ पुगेन भन्न पाइन्न ।’

दाहालले संघीय प्रदेशको सीमांकनमा तत्काल सहमति नदेखिने भएपछि बाँकी तीन विषयमा संविधान संशोधनका लागि तयार हुन ओलीलाई आग्रह गरे । एमालेकै जस्तो आशंका मोर्चातिर पनि रहेको भन्दै उनले संशोधनमा पहिले प्रतिबद्धता जनाइहेर्न शर्त तेस्र्याएका थिए । ‘संशोधन विधेयक टुंगो लगाउने वचन दिनुहोस्, मोर्चालाई चुनावमा ल्याउन म वातावरण बनाउछु,’ दाहाललाई उद्धृत गर्दै बैठक स्रोतले भन्यो । उक्त बैठकमै दाहाल चीन उड्नुअघि एमाले सहित मोर्चासग वार्ता गर्ने सहमति दुई नेताबीच भएको थियो ।

बालुवाटारमा भने ओली अनुपस्थित रहेपछि एमालेबाट सहभागी उपाध्यक्ष गौतम र संसदीय दल उपनेता सुवास नेम्वाङले सप्तरीमा मोर्चाले शान्तिपूर्ण ढंगले सभासम्मेलन गर्ने अधिकार किन कुण्ठित गरेको भनी सुरुमै प्रश्न गरे ।

बनारस र नयाँ दिल्ली भ्रमणबाट बिहीबार दिउसो राजधानी फर्केका संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवले आफू केही महिनाअघि सुर्खेत जादा एमाले कार्यकर्ताले उसैगरी आक्रमण गरेर ‘शान्तिपूर्ण सभासभासम्मेलन गर्ने संवैधानिक हक कुण्ठित गरेको’ कटाक्ष फर्काएपछि बैठक एकैछिन विषयान्तर भएको थियो । ‘प्रतिपक्षीलाई बाहिर राखेर संविधान सर्वस्वीकार्य बनाउन सकिन्न भन्ने लागेर आज मोर्चासगको वार्तामा पहिलोपल्ट हामीलाई पनि बोलाउनुभएको होला, त्यसका लागि धन्यवाद,’ बैठकमा नेम्वाङले दाहाल र देउवालाई व्यंग्य गरे, ‘पहिलो संविधान संशोधन हाम्रो रहरले होइन, बाध्यताले भएको थियो । त्यस बेला कांग्रेस सभापति सुशील कोइरालाले संशोधन गरे मधेसी, जनजाति, दलितहरु सहमतिमा आउछन् भन्नुभएकोले हामी मान्यौं, तर सहमति हुन सकेन । यसपालि पनि त्यस्तै हुने त होइन ?’

नेम्वाङले पहिले सरकार र मोर्चाबीच संशोधनको विषयमा साझा धारणा बन्न सके एमालेसगको छलफल मूर्त हुने तर्क गरेका थिए । प्रधानमन्त्री दाहालले मोर्चासग कार्यदलमार्फत् वार्ता भइरहे पनि सहमतिमा पुग्न अझै बाकी रहेको बताएपछि एमाले नेताहरुले पहिले ‘तीन बुदे सहमतिका हस्ताक्षरकर्ताहरुबीच संशोधनबारे साझा धारणा’ तयार गरेपछि मात्रै एमालेले आफ्नो धारणा राख्ने उनीहरुले अडान राखे ।

मोर्चाको तर्फबाट बोलेका तमलोपा अध्यक्ष महन्थ ठाकुरले ठूला दलहरुले आफूहरुलाई उधारो आश्वासनमा सीमित राखेको भन्दै आक्रोश पोखेका थिए । ‘हामी यसपल्ट उधारो आश्वासन मान्नेवाला छैनौं, तपाईंहरुले के के गर्न खोजेको हो, पहिले गरेर देखाउनुस्,’ ठाकुरले भने, ‘अनि मात्रै सहमति हुने सम्भावनाको कुरा गरौंला । वार्तामा बोलाउने, आश्वासन मात्रे दिने काम भयो ।’

सदभावना पार्टी अध्यक्ष राजेन्द्र महतोका अनुसार बैठकमा स्पष्ट मुद्दाहरुमा कुनै छलफल भएन । दाहाल चीन गएकै अवधि पनि सहमतिको मिलनविन्दू पहिल्याउने, उनी चीनबाट फर्कने बित्तिकै सहमतिको निर्णायक पहल हुने आश्वासन दिएपछि बैठक विना निष्कर्ष टुंगिएको महतोले जानकारी दिए ।

माओवादी केन्द्र प्रवक्ता पम्फा भूसालले प्रतिपक्षी एमालेको उपस्थितिमा सीमांकनबाहेक संविधान संशोधन टुंग्याउन सकिने विकल्पमा बैठक प्रवेश गरेको जानकारी दिइन् । ‘प्रतिपक्षी एमाले र मोर्चा दुवै सकारात्मक हुने ठाउहरु देखिएका छन्, आजै निष्कर्ष ननिक्ले पनि सहमतिको दिशातिर छलफल उन्मूख भएको छ,’ भूसालले भनिन्, ‘प्रधानमन्त्री चीनबाट फर्केलगत्तै सीमांकन थाती राखेर संशोधन विधेयक टुंगो लगाउने र चुनावको वातावरण बनाउनेमा सहमति हुन्छ ।’

मोर्चासग बैठक हुनुअघि दाहालले बिहीबारै दिल्लीबाट फर्केका संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवसग सिंहदरबारमै भेटेका थिए । स्रोतका अनुसार दुई नेताबीच संविधान संशोधन विधेयक टुंगो लगाउनेबारे विकल्पको खोजीमा कुराकानी भएको थियो ।
read more...

सय मेगावाट बिजुली छिटो दिन भारतलाई आग्रह

Unknown | 12:35 AM | Be the first to comment!


चैत्र ११, २०७३- फागुनको दोस्रो साता नै निर्माण सम्पन्न भएको कुशहा-कटैया र परवानी-रक्यौल विद्युत् प्रसारण लाइनबाट सकेसम्म छिटो थप ५०/५० मेगावाट विद्युत् दिन नेपालले भारतलाई आग्रह गरेको छ । उक्त प्रसारण लाइन बनेलगत्तै तत्काल विद्युत् आयात गर्न सकिने भए पनि भारतीय पक्षले ढिलाई गरिरहेको सरकारी अधिकारीहरुले बताएका छन् । यसअघि दुवै ठाउँको पुरानो प्रसारण लाइनबाट ५०/५० मेगावाट विद्युत् आयात भइरहेकोमा अब नयाँ प्रसारण लाइनबाट थप ५०/५० गरी जम्मा १०० मेगावाट विद्युत् आयात गर्न सकिन्छ । भारत सरकारको सहयोगमा यी दुई प्रसारण लाइन निर्माण गरिएको थियो ।
यदि उक्त विद्युत् आयात भएमा देशका प्रमुख सहरहरु लोडसेडिङ मुक्त हुने नेपाल विद्युत प्राधिकरणको भनाइ रहेको छ । अन्यत्नै सुख्खा महिना चैत्रमा समेत काठमाडौंमा लोडसेडिङ नभएको परिप्रेक्ष्यमा थप विद्युत् छिटो आयात भएमा अन्य भागका जनताले समेत राहत पाउने प्राधिकरणका अधिकारीहरुको भनाइ रहेको छ ।
भारतका लागि नेपाली राजदूत दीपमकुमार उपाध्यायको नेतृत्वको टिमले भारतीय उर्जामन्त्री पियुष गोयललाई भेटेर सो प्रक्रियालाई सकेसम्म छिटो पूरा गरिदिन आग्रह गरेका छन् । उक्त बैठकमा नेपाल विद्युत् प्राधिकरण र भारतको विद्युत् व्यापार निगमको बीचमा सकेसम्म छिटो बेठक आयोजना गरेर विषयलाई टुंगो लगाउने सहमति भएको छ । ‘यो प्रक्रियालाई सकेसम्म छिटो सम्पन्न गर्नका लागि भारतीय उर्जामन्त्री पियुष गोयलले सम्बन्धित अधिकारीहरुलाई सकेसम्म छिटो निर्देशन दिने बताउनुभएको छ,’ भेटमा सहभागी दूतावासका प्रवक्ता हरि ओडारीले कान्तिपुरसँग भने, ‘अब धेरै ढिलो हुँदैन भन्ने हाम्रो अपेक्षा रहेको छ ।’

त्यसैगरी विद्युत्‌को मूल्य बारेमा समेत कुराकानी भएको छ । कतिपय सम्झौतामा नेपालले भारतबाट बिजुली किन्दा ६ रुपैयाँ भारुसम्म तिरिरहेको छ । यद्यपि पछिल्लो समयमा ढल्केवर-मुजफ्फपुर प्रसारण लाइनबाट तीन रुपैयाँ साठी पैसामा किनिरहेको छ । नेपालले त्यही दरमा थप बिजुली उपलब्ध गराउन आग्रह गरेको छ ।
एक/दुई दसक अगाडि भारतमा पनि बिजुलीको अभाव भएका कारण नेपालले महँगो दरमा किन्नु परेको तर अहिले सस्तो भएकाले मूल्यमा समायोजना गर्न उपाध्यायले भारतीय पक्षलाई आग्रह गरिरहेका छन् । यसमा पनि भारतीय उर्जामन्त्री पियुष गोयलले सकारात्मक जवाफ दिएका छन् ।

प्रशासनिक तहमा भएका वार्ताहरुबाट विद्युत् आयातमा ढिलाई भएका कारण माथिल्लो तहमा कुराकानी भएको हो । सम्भवत: नेपाल विद्युत् प्राधिकरण र भारतको विद्युत् व्यापार निगमको बीचमा छिट्टै यस विषयमा वार्ता हुने छ । पछिल्लो समयमा नेपालमा लोडसेडिङ अन्त गर्नका लागि आफूहरुको पनि योगदान भए पनि आफूहरुलाई क्रेडिट नदिइएको भारतीय पक्षको गुनासो रहेको छ ।
read more...
 
Copyright © 2015 News Today
Distributed By My Blogger Themes | Template Design By BTDesigner