Friday, March 24, 2017

चुनावी चहलपहल:: धुरीधुरीमा पार्टीका झन्डा

Unknown | 12:39 AM |


चैत्र ११, २०७३- डाँडापाखामा विभिन्न राजनीतिक दलका झन्डा बोकेर चुनावी अभियानमा हिँडेकाहरूको लर्काे देखिन थालेको छ। दुर्गम बस्तीहरूमा चुनावी सभा हुन थालेका छन्। घरका धुरी र बाटो छेउका रूखबुट्यानमा पार्टीका झन्डा फरफराउने होडबाजी झैं छ। डोटीमा नेताहरूलाई अहिल्यैदेखि अन्तर्घातको चिन्ता हुन थालेको छ। ओखलढुंगामा मुख्य राजनीतिक दलहरूले कार्यकर्ता तानातान गर्न थालेका छन्। मध्य तराईका सर्लाही र बारालगायत जिल्लामा भने अझै चुनावी माहोल तातिसकेको छैन। मधेसी मोर्चाको विरोधले मतदाता अन्योलमा छन्।


‘पार्टीका झन्डासहितको झकिझकाउका दृश्यले गाउँमा चुनाव लागिसकेको संकेत गर्छ,’ अजयमेरू गाउँपालिकाका स्थानीय रामचन्द्र ऐरले भने, ‘लामो समयपछि हुन लागेको स्थानीय तह निर्वाचनमा जनताको स्वत: रुचि बढेको छ।’

उनले सबै राजनीतिक दलको चुनावी गतिविधि तीव्र प्रतिस्पर्धात्मक बन्दै गएको बताए। दलहरूले गाउँका अगुवालाई पार्टी प्रवेश र स्थानीयलाई चुनावी सभामा सहभागी गराउन थालेका छन्। फुर्सदिलो समय भएकाले चुनावी सभामा महिला/पुरुषको उल्लेखनीय उपस्थिति हुने गरेको छ। ‘बाली भित्र्याउने समय अझै भएको छैन। यति बेला प्राय: सबै फुर्सदिला छन्,’ ऐरले भने, ‘सर्वसाधारण सबै दलका चुनावी सभामा जान भ्याएका छन्।’

नेता बन्ने अवसर
‘यो चुनावले नयाँ पुस्तालाई नेता बन्ने ढोका खोल्नेछ,’ भद्रपुर गाविसका पूर्वअध्यक्ष उज्वलदत्त पनेरूले भने, ‘२० वर्ष पहिले गाउँको चुनाव लडेको बावुको छोरा पनि चुनाव लड्ने उमेरको भइसक्यो।’ त्यसैले पार्टीभित्र युवा कि पाका कसले टिकट पाउने भन्ने मतमतान्तर बढदै गएको छ। कांगेस अजयमेरू गाउँपालिकाको चुनावी सभामा स्थानीय किशोर बिष्टले युवालाई टिकट दिनुपर्ने माग गरे। त्यही सभामा पाका उमेरका कमलसिंह भाटले पार्टी र जनतामा लगानी गरेका पाका नेताले टिकट पाउनुपर्ने जिकिर गरे।

‘बावुले मन पराएको पार्टीले टिकट नदिए, छोरा अर्काे पार्टीमा हामफाल्ने अवस्थासमेत छ,’ देवलदिव्यपुरका दानसिंह भण्डारीले भने, ‘हाम्रो गाउँमा त्यस्तै अवस्था देखिएको छ।’ मुख्यत: ठूला दल कांग्रेस, एमाले र माओवादी केन्द्रमा टिकटका लागि त्यस्तो तछाडमछाड छ। कांग्रेस जिल्ला सचिव लक्ष्मीराज अवस्थीले टिकटका आकांक्षी बढी भएकाले पार्टीलाई मिलाएर लैजाने चुनौती रहेको बताए। उनले भने, ‘गाउँमा कार्यकर्ता नभएका साना पार्टीले टिकट नपाएका असन्तुष्टलाई आफ्नो उम्मेदवार बनाइदिने डर छ।’ गाउँमा नेता बन्ने रहर बोकेकाहरू अहिले विभिन्न दलहरूसँगको आफ्नो आबद्धता र पहुँच बढाउन थालेका छन्। साना र भर्खरै स्थापित दलले टिकटको प्रलोभनमा संगठन बिस्तारको फाइदा उठाइरहेको अवस्थीले बताए।
Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 News Today
Distributed By My Blogger Themes | Template Design By BTDesigner